८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बागलुङ जिप दुर्घटना: मृतक १४ जनाकै सनाखत, घाइतेको हेलिकोप्टरबाट उद्धार (७ तस्वीर)


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, मंसिर १७ । बागलुङको बडिगाड गाउँपालिका–७, घोपर्नामा भएको जिप दुर्घटनामा परी मृत्यु हुने सबै १४ जनाकै सनाखत भएको छ ।

मंगलबार बिहान गुल्मीको इस्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसी खोलागाउँपालिकातर्फ जाँदै गरेको लु१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा एक बालकसहित ९ महिला र चारजना पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३५ वर्षीया सूचना कार्की, इस्मा–५ का २६ वर्षीय चालक रेशम थापा, इस्मा–५ की ४० वर्षीया वसुन्धरा कार्की, इस्मा–३ का २३ वर्षीया माया थापा, नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षीया नुमा कार्की रहेका छन् ।

त्यस्तै, बागलुङको बडिगाड–५ की लक्ष्मी केसी, इसमा–४ का ४० वर्षीया सीता कार्की, सोही ठाउँका ६५ वर्षीय झवी कार्की, कन्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की, इस्मा–४ का ४५ वर्षीय भूमि कार्की, सोही ठाउँका २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र सोही स्थान बस्ने सीता कार्कीकी दुई वर्षीया छोरी अनुष्का कार्कीले ज्यान गुमाएको प्रहरी नायव निरीक्षक रिनबहादुर वैद्यवारले जानकारी दिए ।

दुर्घटनामा परेका इस्मा–४ का धनबहादुर कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई बडिगाड खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

घाइते बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मीका हिमाल कार्की र मीना केसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको छ । गुल्मीका सांसद गोकर्ण विष्ट हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनामा पर्नेहरु बागलुङको देवीस्थान, बायाँखोलामा देवाली (कुलपूजा) मनाउन जाँदै गरेकाहरु हुन् ।

जिप मध्यपहाडी लोकमार्गको सडकदेखि करिब ३५० मिटर तल बडिगाड नदीमा खसेको थियो ।