
इलाम, साउन २० । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् ।
इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् । इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाका प्रमुखहरुले चिया बगान फिर्ताको माग गरेका हुन् ।
उनीहरुले २०५७ साल असार १४ गते भएको सम्झौंता नेपालको परिवर्तित समय सापेक्ष नभएकाले भंग गरी सम्बन्धित स्थानीय तहलाई सञ्चालनका लागि जिम्मा दिन संघीय सरकारसँग माग गर्ने निर्णय गरेका छन् ।
लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुन बमोजिमका करहरु नबुझाएको, व्यवस्थापन पक्षले चिया श्रमिकको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्था बेवास्ता गरेपछि निजिकरण फिर्ताको माग सर्वसाधारणदेखि जनप्रतिनिधिहरुले उठाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्