१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली नदीमा बेपत्ता युवकको छानविन गर्न गृह मन्त्रालयको टोली दार्चुला पुग्यो


0
Shares

काठमाडौं, साउन २० । भारतीय एसएसबीले तुइन फुकालेपछि महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ ।

गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट छानविनको काम सुरु गरेको छ । १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले घटनाको छानबिन कसरी गर्ने ? घटनास्थलसम्म कसरी जाने ? लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ । दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका–२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । घटना भएको पाँच दिन बित्दा समेत धामीको अवस्था अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।