
काठमाडौं, साउन २१ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको छ ।
पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय मान्यताअनुसार सम्बन्धित निकायले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्दा कठीनाइ भयो भने उहाँहरु पुनरावलोकनको लागि आउनुपर्ने उल्लेख गर्दै यसलाई पुनर्विचार गरेर आए थप छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो ।
नेपालमा यो अभ्यास नभएको बताउँदै डा. पाण्डेले यो अभ्यासलाई पुनर्जीवित बनाएर काम गर्न आगामी दिनमा थप सल्लाह र छलफल गरेर अघि बढ्ने पनि जनाउनुभयो ।
उहाँले समितिले कतिपय विषयमा गहिरिएर अध्ययन गरेको तर कतिपय विषयमा गम्भीर अध्ययन नभएको पाइएको बताउनुभयो । प्रवक्ता पाण्डेले आगामी दिनमा यसलाई गम्भीर अध्ययन गरेर थप मजबुत तरिकाले सम्बन्धित निकायलाई सुझाव दिन सक्ने गरी प्रतिवेदन ल्याउने माग उठिरहेको समेत प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्