
काठमाडौं, साउन २४ । संसदीय समितिले काठमाडौं उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकले बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको सौैन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो ।
बैैठकमा समितिले निर्माणको काम समयमै सम्पन्न नहुँदा निर्माण खर्चमा वृद्धि भएको र उपत्यकाका अन्य विकास, निर्माणमा समेत असर परेको भन्दै सडकको हालको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी सहायकमार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको छ ।
समितिले उपत्यकाको बाहिरी चक्रपथ निर्माणबारे पनि चासो देखाएको छ । बैठकमा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताउनु भएको थियो ।
बजेटमा देशभर १२ स्थानमा स्मार्ट सहर बनाउने भनिएको तर बजेट १० लाखको दरले मात्र विनियोजन गरिएको उहाँले बताउनुभयो । १२ अर्व बजट विनियोजन हुुनपर्नेमा जम्मा १ करोड मात्रै विनियोजन हुँदा निर्माण कसरी अघि बढ्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले उपत्यकामा धेरै आयोजनाको घोषणा गरिएपनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्