
अक्कल कुँवर
काठमाडौं, साउन २४ । कसैले गरेको पूरा कुरा नसुन्ने, झर्किने, सञ्चारमाध्यममा नखुल्ने, सल्लाहमा नचल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको स्वभाव चिन्नेहरु यही निक्र्योलमा पुग्छन् । पाँचौ पटक प्रधानमन्त्रीको कार्यभार सम्हालिरहनुभएका देउवामा विगतको छवि दोहोरिएला वा सुधार होला भन्ने आम चासोबीच कांग्रेसका युवा नेताहरु भने उहाँको बानी व्यवहारमा सुधार आएको जिकिर गर्छन ।
शुक्रबार साँझ पार्टीभित्र बैचारिक समूहको रुपमा चिनिने नेपाली कांग्रेसको ८ जना युवा केन्द्रीय सदस्यहरु प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगे । उहाँहरुबीच बालुवाटारमा दुईघण्टा छलफल भयो । युवा नेताहरुले अपेक्षा गरेभन्दा छलफल निकै फरक महसुस गरे । सरकार सञ्चालन सन्दर्भमा आफूलाई निरन्तर सल्लाह सुझाव दिन र खबरदारी गर्न आग्रह गर्नुभएका प्रधानमन्त्री देउवाले युवा नेताहरुका सुझावलाई पनि ध्यान दिएर सुन्नुभयो । छलफलमा सहभागी युवा नेता धनराज गुरुङ पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाको बानीव्यवहारमा निकै सुधार देखिएको बताउनुहुन्छ ।
छलफलमा नेताहरुले दार्चुला घटना, कक्षा १२ को परीक्षा, कोभिडविरुद्ध खोप आपूर्ति र भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले आफूहरुले दिएका मध्ये केही सुझाव कार्यान्वयन गरिसक्नुभएको नेता गुरुङको भनाई छ ।
युवा नेताहरुसंगको छलफलमा प्रधानमन्त्री देउवाले विगतका कमजोरी दोहोरिन नदिन आफू सचेत रहेको र जनताको पक्षमा काम गर्न आतुर रहेको बताउनुभयो । फेरिएको व्यवहारसंगै प्रधानमन्त्री देउवाको यो कार्यकाल विगतभन्दा फरक हुने नेता गुरुङको विश्वास छ ।
विगत चार पटकका कार्यकाल देउवाका लागि संख्यामा सीमित भए । कीर्तिमानी बन्ने कि संख्यामा सीमित हुने त्यो कामप्रतिको समर्पणले देखाउने छ ।
प्रतिक्रिया दिनुहोस्