
एलबी विश्वकर्मा
काठमाडौं, साउन २४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज भत्काएर संग्रहालय बनाउन थालिएपछि सर्वत्र आलोचना भएको छ । महाकविले आफ्नो जीवनको उर्जाशील समय विताएको घर भत्काएर कस्तो संग्रहालय बनाउन खोजिएको हो भन्ने सवैमा चिन्ता र चासो बढेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटा परिवारबाट मोहियानी हक हस्तान्तरण भई हकभोगमा आएको घर कविकुञ्जलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय बनाउन धमाधम भत्काउन थालिएको छ ।
संग्रहालय निर्माणका लागि घर भत्काउँदा चर्को आलोचना भइरहेको छ । विश्व प्रसिद्ध मानिसका नाममा स्थापित संग्रहालय बनाउँदा पुरानो स्वरुप विगार्ने प्रचलन नभएको भन्दै सामाजिक सञ्जाल रंगिएका छन् । तर देवकोटा परिवार भने विगत डेढ दशकदेखि प्रयोगविहिन घर २०७२ को विनाशकारी भूकम्पबाट क्षतविक्षत हुँदा पनि आफूहरुले केही गर्न नसकेकाले सरकारलाई संग्राहालय बनाउन आग्रह गरेको महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमाल बताउनुहुन्छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० मैतीदेवीस्थित महाकवि देवकोटाको घरले चर्चेको १२ आना एक दाम जग्गालाई देवकोटा परिवारलाई दुई करोड ५० लाख उपलब्ध गराई संग्रहालय बनाउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्