
काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेकी छिन् ।
प्रधानमन्त्री ओली आजै अस्पतालबाट डिस्चार्ज हुने भएपछि राष्ट्रपति भण्डारी ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमै गएकी हुन् ।
बिहीबार दिउँसो करिब २ बजे अस्पताल पुगेकी उनी अस्पतालमा केहीबेर बसेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग जानकारी लिएकी थिइन् ।
यसैबीच, प्रधानमन्त्री ओली बिहीबार अपराह्न ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै, ‘सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ः०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’ जानकारी दिएका हुन् ।
सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर अाजै दिउँसाे ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएकाे सुखद समाचार सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।
– प्रेस सल्लाहकार— Surya Thapa (@ThapajiSurya) December 5, 2019
त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो । उनी सोही अस्पतालको ‘आइसीयु’मा चिकित्सकको निगरानीमा रहेका छन् ।
राष्ट्रपति भण्डारी यसअघि मंसिर १२ गते साँझ पनि प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्