
काठमाडौं, साउन २५ । संसदीय समितिले कोरोनाको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको हो ।
समितिले कोरोनाको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा समितिका सदस्यहरुले सबै नागरिकलाई सकेसम्म चाँडै कोभिड खोप लगाउने व्यवस्था गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि भारत र चीनसँगको सीमामा कडाई गरिएको भन्दै कोभिडको तेस्रो लहर आउन नदिन सरकार सचेत रहेको बताउनुभयो ।
सरकारले आगामी चैत्रभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने योजना सार्वजनिक गरेको छ । तर त्यस अनुसारको कामलाई भने अघि बढाउन नसकेको समितिको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्