
काठमाडौं, साउन २५ । संसदीय समितिले काठमाडौं-तराई/मधेश दू्रतमार्गअन्तर्गत देखिएका जग्गाको मुआब्जासम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको उपसमितिले आज आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको मुआब्जा विवाद छिट्टै समाधान गर्ने आश्वासन दिएको हो । समितिका सदस्य गणेशकुमार पहाडीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समस्या समाधानका लागि सरकारले गठन गरेको समितिसँग पनि छलफल गरी सो क्षेत्रको जग्गाको मुआब्जासम्बन्धि विवाद समाधान गर्ने योजना सुनाउनु भयो । उहाँले सो आयोजनाको काम समयमै सक्ने गरी विवाद समाधान गर्न समितिले उपसमिति गठन गरेको पनि स्मरण गराउनु भयो ।
स्थलगत अनुगमनका क्रममा आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले आयोजनाको प्रवेश मार्गको कामलाई अघि बढाउन खोकना र बुङमतीमा जग्गाको मुआब्जा विवाद समाधानका लागि पहल गरिदिन समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले सो क्षेत्रको १ सय ६५ रोपनी जग्गाको मुआब्जा कम भयो भनेर स्थानीयले भनेपछि आयोजनाको शुन्यदेखि साढे ३ किलोमिटर क्षेत्रको कामलाई अघि बढाउन नसकिएको बताउनुभयो ।
आयोजनाले हालसम्म १६ प्रतिशत काम सम्पन्न गरिएको पनि जनाएको छ । करिव १ खर्व ७५ अर्व लागत लाग्ने अनुमान गरिएको आयोजनाको कामलाई अघि बढाउन ललितपुरस्थित खोकना र बुङमतीको जग्गाको मुआब्जाको समस्या तत्काल समाधान हुनुपर्ने आयोजनाको माग छ ।
प्रतिक्रिया दिनुहोस्