
काठमाडौं, साउन २७ । संवैधानिक आयोगहरुले आफ्ना कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
संविधान अनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयहरुमा नेपाल सरकारको सचिव सरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिवस्तरको दरबन्दीको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नु परेको बताउनुभयो । हाल ती समावेशी आयोगहरुमा सहसचिव प्रमुख रहने गरी कर्मचारीहरुको व्यवस्था गरिएको छ । त्यसले अन्य मन्त्रालयका सचिवहरुसँग सहज ढंगले काम गर्न सक्ने अवस्था नभएकाले सचिव सरहकै कर्मचारीको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
आयोगहरुले सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तोकिदिन पनि सरकारलाई भनेको छ । आयोगहरुका कार्य सम्पादन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सम्पर्क कार्यालय भए सहज हुने निष्कर्षमा पुगिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो ।
बजेट र कर्मचारीको अभावमा आफूहरुले काम गर्न नसकेको आयोगहरुको दावी छ ।
प्रतिक्रिया दिनुहोस्