
काठमाडौं, साउन २७ । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो ।
सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदी नालाहरु बन्धक बनेको पनि बताउनुभयो । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
सांसद वलीले आफुहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सहि कुरालाई सहि र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्