६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


खोप खरिदका लागि एशियाली विकास बैंकसँग १९ अर्ब ५८ करोड ऋण सम्झौता


0
Shares

काठमाडौं, साउन २७ । सरकारले कोरोनाको खोप किन्न १९ अर्ब ५८ करोड ऋण लिने भएको छ ।

ऋण लिन सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोरोनाको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने बताइएको छ ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोरोनाको चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै एडीबीबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोरोनाविरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।