काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा प्रश्न सोध्दै जवाफ मागेका छन् ।
आफ्नै निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन गर्न नसकेको, पार्टी महाधिवेशन टार्न खोजेको, देउवाको प्रशस्तीमा भिडियो बनाइएकोलगायत विषयमा प्रश्न गरेका हुन् ।
नेता धनराज गुरूङले सभापति देउवालाई ‘शेरबहादुर देउवा मलाई मनपर्छ किनभने..’ भन्ने सार्वजनिक भिडिओबारे प्रश्न गर्नुभएको हो ।
गुरूङले बैठकमा भन्नुभयो, ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याए, सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति शुरू भएछ । यस्तो प्रवृत्तिबाट सजग हुनुहोस् ।’
गुरुङको प्रश्नमा प्रधानमन्त्री देउवाले त्यस्ता भिडिओ बनाउन बन्द गर्न आफूले निर्देशन दिइसकेको बताउनुभएको थियो । देउवाको प्रशस्तीमा बनाइएका त्यस्ता भिडियोप्रति स्वयं महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै सभापतिको ध्यानाकर्षण गराइसक्नुभएको छ ।
अर्का नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न नसकेकामा प्रश्न गर्नुभयो, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छन् । यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’
गठबन्धन सरकारमाथि अनेक चुनौती रहेको भन्दै नेता कोइरालाले छिमेकी देशसँगका सम्बन्ध सन्तुलनमा राख्न सुझाव दिनुभयो ।
केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा राख्न नसक्नु कमजोरी भएको भन्दै उहाँले १४ औं महाधिवेशन गर्न इच्छाशक्ति नदेखाएकामा नेतृत्वको आलोचना गर्नुभयो । उहाँले मापदण्डअनुसार मात्रै क्रियाशील सदस्यता दिन पनि माग गर्नुभयो ।
विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्न सुझाव दिँदै कोइरालाले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन नै गर्नुपर्ने अडान राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्