काठमाडौं, भदौं १ । अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ ।
मंगलबार एक विज्ञप्तिमार्फत् सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै तालिबानले भनेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ ।’
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो ।
यसैगरी, तालिबान नेतृत्वले अफगानिस्तानमा मानवीय कार्य जारी राख्न पनि आग्रह गरेको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहित पठाइएको पत्रमा तालिबानले मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्य जारी राख्ने जनाएको हो ।
आश्वासनले मूर्तरुप पाए सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सघाउन सकिने यूएनएचसीआरकी एशिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले जानकारी दिनुभएको हो ।
तालिबानको यसअघिको शासन सम्झनेहरुमा एक किसिमको त्रास देखिएको भन्दै पटेलले भन्नुभयो, ‘अहिले उनीहरुले आश्वासन दिएका छन् । यद्यपि उनीहरुको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ । त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगत रुपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ ।’
सत्ताकब्जा गर्दै तालिबान शक्तिमा आएपछि अफगानिस्तानमा आममानिस त्रसित छन् भने विदेशी मुलुकहरुले आफ्ना नागरिकलाई धमाधम उद्धार गर्दै लगिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्