
राजन कुईंकेल
वर्तमानको बेथितिमा पृथ्वीनारायण शाहलाई कसरी सम्झूँ ? तर सम्झनु छ । उनलाई नसम्झी यस लेखको अर्थ पनि रहन्न । सम्झने कारण हो, अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस । हरेक खाले दिवसमा श्राद्ध गर्ने हाम्रो परम्परा नै हो ।
यस पटक पनि भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा सरकारी र गैरसरकारी निकायहरुले केही पण्डित जम्मा गरे । कुर्ली कुर्ली एकापसमा उपदेश छाँटे । कतिले सरकारको आलोचना गरे । यसरी आलोचना गर्ने भूमिका र तहमा अधिकांश त अवकाश प्राप्त पूर्व कर्मचारी हुनु सधैको रीत नै हो । जोडिन पुगेका दलीय नेता पनि छिटा परेको मात्र होइन भ्रष्टाचारको आहालमै डुबेको हुनु कुनै आश्चर्य भएन ।
अख्तियार होस् वा अरु संवैधानिक निकाय अवकाश प्राप्त पूर्व कर्मचारीहरुका लागि फुर्सदको चौतारी वा भनौं क्लवका रुपमा विकास गरिएको छ । जो अहिले पारदर्शिता र सदाचारिताको उपदेश छाँट्दै छन् । पदमा रहँदा तिनैले सबैभन्दा गोप्यता अनुसरण गरे । मिलेसम्म नीति मर्काएर वा औलो बङ्याएर जनताले जम्मा गरेको ढुकुटी रित्याए (केही इमान्दारहरुप्रति यो लक्षित छैन) । नेतालाई लोभ जगाए । लोभी नेताको मनपेट पाएका पापी कर्मचारीले बाँकी केही छाडेनन् ।
मुलुकको वर्तमान बेथिति देख्दा यो देश तिनै पृथ्वीनारायण शाहले राखेको ढुंगोमा अडिएर आजपर्यन्त चलेको छ भन्न पनि लाज लाग्छ । टुक्रिएको समाज, मन र शक्तिलाई सामथ्र्यका आधारमा एउटै धागोमा उनेर उनैले वर्तमान नेपालको जग राखिदिए । उनको होस्टेमा हैसे गर्नेहरु तात्कालीन समाजका सबै जातधर्मका वीर वीरांगानाहरु थिए । तर वर्तमानका कृतघ्नहरु स्वार्थीहरुको उक्साहटमा उनैमाथि सत्तोसराप गर्न किञ्चित लज्जाबोध गर्दैनन् ।
सत्ता (पैसा) र शक्तिका लागि आफ्नी आमा नै बेच्न तयार चाण्डालहरु रहेको वर्तमानमा, देशको जगको ढुंगो राख्ने तिनै शासक मर्ने बेलामा आफ्ना उत्तराधिकारी र भाइभारदारहरुलाई घूस लिने र दिने दुबै देशका दोषी हुन् तिनको जिउधन लिए पनि पाप लाग्दैन भन्दै बितेका थिए भन्दा पत्याउने पो कस्ले र ? आजका दिनमा सदाचारको कुरा गर्नु, सुशासन र पारदर्शिताको कुरा गर्नु ‘लूट्न नसक्नेहरुले गाउने गीता’ बनेको छ ।
‘लूटनु’ मुलुक चलाउन सिंहदरवारमा आसीनदेखि चुलोचौकामा ठोक्किन आउने स्थानीय सरकारसम्मको पर्याय बनेको छ । बिचौलिया कृषकको खेतदेखि अदालतको बेञ्चसम्म बेरोकटोक बिचरण गर्दैछ । दलाली शान र मानको पेशा बनेको छ । समाज सबैभन्दा बढी राज्यको ढुकुटी लूट्नेहरुलाई प्रशंसा पत्र र दोलाई ओढाएर सम्मान गर्छ । अपराधीकरण हाम्रो अंश बनेको छ । झूट, लूट, दलाली, बिचौलिया, ठगी नागरिकको धमनीमा रक्तसञ्चारका रुपमा विकास गराइँदैछ ।
संविधान, ऐन, कानुन, विधि, विधान बोल्न नसक्ने, ठग्न नसक्ने, दलको दास बन्न नसक्ने देशको नाममा नागरिकताको एउटा खोस्टो पाएको निरीह जनताका लागि देखाउने र तिनिमाथि शासन गर्ने हतियार बनेको छ ।
आज राज्यका तीनै अंग र मातहतका निकाय कसरी भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भन्ने साना साना नानीले पनि बताउन सक्ने भएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अगुवादेखि मातहतका सबै संरचना निकम्मा पंगू साबित गराइएका छन् । भ्रष्टाचार र बेथिति स्थापित हुँदा विधि र थिति विस्थापित छ । यस्तोमा तिनै पृथ्वी बुढाले आफ्ना सन्तान दरसन्तान र मुलुकका लागि केही यस्ता सत्बचनमार्फत् सचेत तुल्याएका थिए भनेर कसरी पत्याउनु त !
‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फूलबारी हो । सबैलाई चेतना भया । यो फूलबारीको छोटा बडा चारै जात छत्तीस वर्णले सम्भार गर्नु ।
‘राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस दिन्या
र घुस खान्या हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् ।’
‘अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू । मगर जाँची विचारी थाप्नू । कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।’
पृथ्वीनारायण शाहले जे नगर भने हामीले त्यही गर्र्यौ । आजका दिनमा साधारण नागरिकले न्याय पाउनु आकाशको फल भएको छ । न्याय सर्वत्र बिक्रीमा छ । राज्यको जुनकुनै जिम्मेवारीमा राखिएकाहरुको भूमिका नागरिकलाई न्याय दिनु हो । स्वयं सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुने न्यायमूर्तिहरु न्याय किनबेचको माध्यम बनेको, न्यायालयमा भ्रष्टाचार रहेको, बिचौलियाको नियन्त्रणमा न्याय परेको स्वीकार्छन् भने राज्यको बाँकी निकायबाट नागरिकले न्यायको अपेक्षा गर्नु नै मूर्खतासिवाय के होला र ?
भ्रष्टाचारले राज्य संयन्त्र गाँजेको र भ्रष्टमाथि कार्वाही नभएर समाज नै भ्रष्टाचारमैत्री हुन थालेको भन्ने आरोप मात्रै हो त ? या दण्डहीनताका कारण आमसर्वसाधारणमा चरम निराशा बढेको भन्ने कसरी पत्याउने ? यसका लागि तलका भ्रष्टाचारका केही नमूना हेरौं जसले मुलुक र समाज कसरी भ्रष्टाचारमैत्री बन्दै गएको छ भन्ने आफै प्रष्ट हुन्छ ।
नेपालमा भएका भ्रष्टाचारका ठूला केही काण्डहरु । राणाकालमा रोपिएको भ्रष्टाचारको बिरुवा पञ्चायतदेखि प्रजातन्त्र हुँदै गणतन्त्रकालसम्म झाँगिएर विचित्रको बनिसकेको छ । वीरशमशेरको पालाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम विदेश पठाउने कूसंस्कार आजका दिनमा ‘मनी फ्लाइङ’का रुपमा चर्चित बनेको छ ।
चन्द्रशमशेरले त आफ्नो मृत्युअघिको ईच्छापत्रमा आफूले कमाएको सम्पत्ति आफ्नो छोराछोरी, श्रीमती र परिवारको भलाईको लागि भएको उल्लेख गरेरै मरे । जसमा उनले भनेका थिए, ‘प्यारा छोरा, छोरी र ज्वाईहरु, यो सम्पूर्ण सम्पत्ति तिमीहरुकै लागि कमाएको हूँ, त्यसैले तिमीहरु सबैले बुद्धि पुर्याएर काम गर्यौ र होस पुर्याएर खर्च गर्यौ भने सुविस्तासाथ जिन्दगी बिताउन सक्छौ ।’ (इतिहासकार ज्ञानमणि नेपाल)
भ्रष्टाचारका चर्चामा आएका ठूला काण्डहरुः
गार्मेण्ट काण्ड (पञ्चायतकालमा वि.सं. २०३३ साल तात्कालीन प्रधानमन्त्रीसहित संलग्न)
सर्पको छालाकाण्ड (पञ्चायतकाल)
हरियो वन विनाशकाण्ड (पञ्चायतकाल)
धमिजा काण्ड (२०५० साल)
चेज एयर काण्ड (२०५५ साल)
चाईना साउथ वेष्ट जहाज भाडाकाण्ड (वि.सं. २०५६ साल)
एअरबस काण्ड (२०६६ साल)
लाउडा एअरकाण्ड (२०५७ साल)
चिनी खरिदकाण्ड (वि.सं.२०५१ साल)
सांसद खरिदबिक्री, प्राडो, पजेरो, सुरा–सुन्दरी, सुत्केरीकाण्ड÷बैंकक उपचारकाण्ड (वि.सं. २०५३ साल)
मल काण्ड (सन् १९९८)
विमानस्थल सुनकाण्ड (तात्कालीन गृहमन्त्रीसहित संलग्न)
नेपाल प्रहरीको सूडान घोटालाकाण्ड
सांसद खरिदका लागि चिनियाँसँग ५० करोड मागकाण्ड (२०६७ साल प्रधानमन्त्रीको समय संलग्नता माओवादीका नेता महरासंलग्न)
माओवादी लडाकूका नाममा दिइएको रकमकाण्ड (राज्यकोषबाट दिइएको ४६ करोड रकमको बेहिसाब, अख्तियारबाट राजनीतिक भ्रष्टाचारको संज्ञा तर उन्मुक्ति)
वाइडबडी विमान खरिद प्रकरण (२०७५ साल, अहिलेसम्मकै ठूलो धनराशी अपचलन, २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे संसदीय समितिको निष्कर्ष)
नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार (पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको संलग्नता)
अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
मेलम्ची खानेपानीको ३८ करोड रुपैयाँ हिनामिनाकाण्ड
३३ किलो सुनकाण्ड
चुडामणि शर्मा कर छूट प्रकरण
आयल निगमको जग्गा खरीदकाण्ड
एनसेलको पूंजिगत लाभकर छूटकाण्ड (न्यायालयका न्यायाधीशकै अलग अलग आदेश र फैसला)
बालुवाटार जग्गा प्रकरण र नेताहरुको संलग्नता
तारागाउँको जग्गा कब्जाकाण्ड
यि माथि उल्लेख गरिएका नमूना मात्र हुन् । अरु अनगिन्ती घटनाको त यो सानो आलेखमा लेखेर साध्य नै छैन । त्यसका लागि त भ्रष्टाचारको महाभारत नै लेख्नुपर्ने हुन्छ । पञ्चायतमा बन्द र राजाको प्रत्यक्ष संलग्नता रहेको व्यवस्था भएकाले धेरै विषयहरु सार्वजनिक हुन सकेको देखिन्न । तर बहुदलीय व्यवस्थाको पुनस्र्थापना यता भने भ्रष्टाचारका ठूला प्रकरणहरु छताछुल्लै भएका देखिन्छन् ।
भ्रष्टाचारका विषयमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इनटरनेशनलले प्रतिवेदन निकाल्न थालेको वर्ष १९९५ देखि सँधैभरी नेपाल भ्रष्टाचार बढी हुने मुलुकको वर्गमा पर्छ ।
भ्रष्टाचार नियन्त्रणका लागि गरिएको प्रयास निरर्थझै बनेका छन् । भ्रष्टाचारको सगरमाथामा नियन्त्रणका प्रयास फिका बनेका हुन् । २०१७ सालमै भ्रष्टाचार निवारण ऐन ल्याइयो । २०३४ मा त शक्तिशाली आयोग नै बनाइयो । २०५९ सालमा २०४९ मा बनाइएको कानुनभन्दा अझै बढी अधिकार दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वशक्तिमान बनाइयो । तैपनि परिणाम निराशाजनक छ ।
अख्तियार केही हजार र लाखको घूसको पछि दौडिरहेको छ । यसमागि निगरानी र दण्ड नदिनु भनेको होइन तर राजनीतिक र कर्मचारी मिलेमतोमा गरिने आँखै अगाडीको नीतिगत र संस्थागत भ्रष्टाचारप्रति आँखा चिम्लिएझै देखिन्छ । हैसियतविहीनहरु अकूत सम्पत्तिको मालिक बन्दा पनि अनुगमन निगरानी गर्ने निकायहरु निकम्मा बनेका छन् । अझ भनौं गरुडले नाघेको हुँचिल बनेका छन् ।
उसोत अहिले नियमनकारी आयोगहरुमा जो जो पुगेका छन्, उनीहरु कुनै न कुनै दलको दौराको फेर समातेरै त्यहाँ पुगेकाले पनि राजनीतिक र ठूला नेता संलग्न नीतिगत अपचलनका मुद्दामा कसरी हात हाल्न सक्लान् र ? भन्ने आशंका आमजनतामा रहिरहेकै छ ।
पछिल्ला वर्षमा निर्वाचन जित्न गरिएका खर्च र त्यो खर्च उठाउन केन्द्रदेखि स्थानीय तहसम्मका राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त रहेको दृष्य आँखै अगाडी नाच्दा पनि कसैले केही नगर्ने दण्डहीन संस्कृतिको विकास भएको छ । निर्वाचन जित्नकै लागि प्रधानमन्त्री, मन्त्री, सांसददेखि स्थानीय तहका पदाधिकारीसमेत राज्यको ढुकुटी दोहनमा लिप्त छन् ।
आर्थिक अनुशासनहीनता, बेथिति र अपचलनको अवस्था कस्तो छ भन्ने त महालेखा परीक्षक कार्यालयको वर्षेनी बढ्दै गएको आकारमा उल्लेख भएको आंकाडा हेर्दा पुग्छ । जुन देशको बेरुजु नै ६ खर्बभन्दा बढी छ, त्यसको आर्थिक अनुशासन कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । वर्षेनी एक अर्बभन्दा बढी सरकारी कार्यालयको बेरुजु छ । अरु निकायको बेथिति त झन् कस्तो होला ?
हुनत वर्तमान प्रधानमन्त्रीले म पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न भनेर गीता वाचन गरेको धेरै सुनिन्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सदाचार र पारदर्शिता सबैजसो प्रधानमन्त्रीले रटिरहन्छन् । तर परिणाम र व्यवहार त्यसको ठीक उल्टो छ । आफू र आफू मातहतका मन्त्री, नेताको जीवन कसरी, कुन स्रोतबाट चलिरहेको छ ? त्यो जान्ने र सार्वजनिक गर्ने आँट नगर्दासम्म भट्टयाइने सुगा रटानले तात्विक रुपमा केही भिन्नता आउने छैन ।
प्रतिक्रिया दिनुहोस्