
काठमाडौं, मंसिर २४ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालमा नेपालले स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे शुरु हुनेछ । यसका लागि दुबै देशका टोली तयार देखिएका छन् । खेलाडी मात्र होइन दुबै देशका लाखौंलाख फुटबलप्रेमी यो खेल शुरु हुने समयको प्रतीक्षामा छन् ।
दुई पटकको स्वर्ण विजेता नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ । एक त घरेलु दर्शक र मैदान हुने खेलमा आम नेपालीलाई जितको उपहार पस्कनु हुनेछ भने अर्कातर्फ लगातार फाइनलमा दोस्रो उपाधी आफ्नो पोल्टामा पार्ने अवसर पनि ।
भुटानका लागि त यो फाइनल नै ऐतिहासिक अवसर बनिसकेको छ । पहिलो पटक फाइनल खेल्न लागेको भुटानले दक्षिण एशियाका हस्तीहरु बंलादेश र श्रीलंकालाई पछि पारेर रजत पदक त पक्का गरिसकेको छ ।
नेपाल साग इतिहासमा फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने योजनामा रहँदा भुटान ऐतिहासिक जितको खोजीमा छ । नेपालले यसअघि सन् १९९३ र सन् २०१६ मा स्वर्ण जितेको हो । सन् २०१६ मा भारतलाई उसकै गुहावटीको मैदानमा भएको फाइनलमा हराएर नेपालले स्वर्ण जितेको थियो ।
समूह चरणको खेलमा भुटानलाई ४–० गोलले हराएकाले पनि नेपालको मनोबल उच्च रहेको छ । तर खेल हो, यसका लागि सबै सम्भावनाहरु जिवित हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्