
एजेन्सी, भदौं ६ । इस्लामिक अतिवादी समूह आईएसले अर्को इस्लामिक समूह तालिबानलाई अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ ।
अफगानिस्तानमा तालिबानले जितेको नाटक मञ्चन गराइएको आरोप पनि आईएसले अमेरिकामाथि लगाएको छ । दुबै अतिवादी इस्लामिक समूह भए पनि तालिबानको बिरोधी आईएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनेको टिप्पणी गरेको हो ।
अमेरिकाले जिहादलाई कमजोर बनाउन भर्ती गर्ने व्यक्तिहरुलाई मुल्ला ब्रेडलीको संज्ञा उनीहरुले दिने गर्दछन् । र अहिले सत्तामा पुगेका तालिबानलाई आईएसले नयाँ तालिबान नामकरण गरेको छ ।
१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।
तालिबानले सच्चा शरिया कानुन लागू गर्नसक्नेमा शंका गर्दै आईएसले उसका लडाकूले नयाँ ढंगबाट जिहाद शुरु गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।
अमेरिकाले नै जितेझै गराउँदै व्यवस्थित ढंगले तालिबानलाई सत्ता सुम्पेको दावी पनि आईएसको छ ।
प्रतिक्रिया दिनुहोस्