
विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ । उहाँले आजै शपथ पनि लिनुभएको छ ।
शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।
आचार्यले शुरुदेखि नै प्रदेश १ को मुख्यमन्त्री हुने आकांक्षा राखे पनि पार्टी विभाजनपछि मात्रै उहाँलाई यो अवसर जुटेको हो ।
पार्टी विभाजनअघि आचार्य माधव नेपाल समूहमा हुनुहुन्थ्यो भने राई ओली समूहमा हुनुहुन्थ्यो । तर पार्टी विभाजन गर्ने नेता नेपालको निर्णयमा भने आचार्यले साथ दिनुभएन ।
२०७४ माघ २६ मा दलको नेतामको चुनावमा आचार्य राईसँग पराजित हुनुभएको थियो । ५१ सदस्यीय एमाले सांसदमध्ये राईलाई २६ र आचार्यलाई २४ मत परेको थियो । एक म तबदर भएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग आचार्यले सरकारले बहुमत जोगाउने दाबी गर्नुभयो । आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गरेर सरकारले बहुमत पुर्याउने बताउनुभयो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सदस्य एकढिक्का रहेमा बहुमत त पुग्छ । तर एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद लाग्नेछन् भन्ने विषयले आचार्यको सरकारले बहुमत पाउने नपाउने टुग्गो गर्नेछ ।
एकीकृत समाजवादीतिर ६ जना सांसद मात्रै लागेमा पनि आचार्यलाई बहुमत पुर्याउन कठिन हुनसक्छ । तर, आचार्यले प्रदेशसभामा एमालेकै बहुमत सदस्य कायम हुने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्