२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


एमाले केन्द्रीय कमिटी बैठकः पार्टी परित्याग गर्ने माधव नेपाललगायतको अभिलेख हटाइने


0
Shares

uml central

काठमाडौं, भदौं १० । नेकपा एमालेले पार्टी त्यागेर नयाँ दल खोल्न पुगेका माधव नेपाललगायतका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ ।

ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । तर कसैले भूल सच्चाएर आउन चाहेमा ढोका खुल्ले रहने पनि उहाँले प्रष्ट्याउनुभयो ।

निर्वाचन आयोगले दल दर्ताको सनाखत गर्ने क्रममा विवादास्पद निर्णय गरेको आरोप लगाउँदै ज्ञवालीले त्यसविरूद्ध कानुनी प्रतिवादनका लागि अदालत जाने पनि बताउनुभयो ।

पार्टीले कारबाही गरेका र अनुपस्थितहरुको समेत हस्ताक्षर स्वीकारेकामा एमालेले आयोगप्रति रोष प्रकट गरेको हो ।

बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गर्दै सहजीकरणका लागि महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी पनि दिएको छ ।

यसैगरी, दल विभाजनसम्बन्धि अध्यादेश जारी गर्दा संविधानले परिकल्पना नगरेको स्थानीय पदाधिकारीले दल त्याग गर्न पाउने व्यवस्था ल्याइएकामा त्यसविरुद्ध पनि कानूनी चुनौति दिने निर्णय एमालेले गरेको छ ।

दल रोज्न पाउने गरी ल्याइएको अध्यादेश संविधान विपरित भएकाले कानूनी उपचारमा जाने निर्णय गरिएको ज्ञवालीले बताउनुभयो ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार भएपछि उपाध्यक्ष भीम रावलसहितका माधव नेपाल पक्षमा रहेका नेताहरुसमेत संलग्न केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।