८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भट्टराईको निधनले नेपाली चलचित्रप्रेमीहरु मर्माहत


0
Shares

काठमाडौं, मंसिर ३० । नेपाली चलचित्र क्षेत्रका अब्बल अभिनेता केशव भट्टराईको ५१ बर्षको उमेरमा निधन भएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष समेत रहनुभएका भट्टराईको निधनले नेपाली चलचित्रप्रेमीहरु मर्माहत भएका छन् । उनको आजै (सोमबार) पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नेपाली चलचित्रका होनहार ब्यक्तित्व केशव भट्टराईको ह्दयघातका कारण ५१ बर्षको उमेरमा आइतबार राती निधन भएको छ ।

बुबा स्वर्गीय मेघराज भट्टराई र आमा नन्दकुमारी भट्टराईका छोरा केशव भट्टराईको जन्म २०२५ साल मंसीर ४ गते ओखलढुंगामा भएको थियो ।

२२ बर्षदेखि चलचित्र विधामा सक्रिय भट्टराई नेपाल फिल्म आर्टिस्ट एशोसियशन, र नेपाल फिल्म प्रोडुसरमा आवद्ध थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष रहेका भट्टराईको यसअघि कोटकी कालिका देबी फिल्मको अध्यक्ष रहेका थिए । २२ बर्षको उमेरमा चलचित्र विधामा प्रवेश गरेका उनको चलचित्र विधामा निकै ठुलो योगदान रहेको छ ।

चलचित्र कोशेलीबाट अभिनय यात्रा सुरु गरेका भट्टराईले झण्डै दुई सय भन्दा बढी चलचित्रमा काम गरेका थए । कोशेली लगायत थुप्रै चलचित्रको उनी निर्माता पनि हुन् ।

उनीद्धारा अभिनित चिनो, रहर, दुई थोपा आँसु, दक्षिणा, बलिदान, आफनो मान्छे, मेरो एउटा साथी छ लगाएत चलचित्रहरु लोकप्रिय थिए । पछिल्लो समय भट्टराईले अभिनय गरेको चलचित्र ऐश्वर्य र डेस्टिनेशन काठमाडौं निकै नै चर्चित बनेको थियो ।

अभिनयमा कुशल र शालिन व्यक्तित्वका धनी भट्टराईकै पहलमा बिगत तीन बर्षदेखि थाँती रहेको राष्ट्रिय चलचित्र पुरस्कार वितरण गत असारमा सम्पन्न भएको थियो ।

त्यसैले त उनको निधनमा चलचित्र क्षेत्रका हस्ती र सहकर्मीहरुले शोक व्यक्त गरेका छन् । चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिई वाहवाही कमाएका भट्टराईकै पहलमा ईमेज च्यानलले हरेक बर्ष आयोजना गर्दै आएको ईमेज अवार्डमा यो बर्षदेखि चलचित्र बिधा पनि समावेश गरिएको थियो ।

भट्टराईको निधनले नेपाली चलचित्र जगत स्तब्ध भएको छ । राष्ट्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ ।