
काठमाडौं । हत्या अभियोगमा सभामुख अग्निप्रसाद सापकोटामाथि छानविनको मागसहित नौ वर्ष अघि दायर भएको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नमिल्ने भनेर पन्छाएको छ ।
संवैधानिक इजलासमा अन्तिम सुनुवाइका लागि भन्दै बुधबारका लागि पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण मुद्दा हेर्न अस्वीकार गरेपछि हेर्न मनिल्नेमा सरेको हो ।
२०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताको अपहरणमा परी काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्या भएको घटनामा सापकोटालाई जोड्ने गरिन्छ । लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।
घटनामा सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतको प्रत्यक्ष संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमायाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । काभ्रे जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीमाथि कारबाही नभएपछि लामाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफ्नो नेतृत्वमा वरिष्ठतम न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्