
काठमाडौं, भदौ १७ । प्रभावकारी रुपमा कोरोना खोप अभियान संचालन गरेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ ।
सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै बधाई दिनु भएको हो ।
निर्देशक खेत्रपालले नेपालले १ करोड खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको उल्लेख गर्नु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७ सय जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८ सय ८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७ सय ९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्