१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दार्चुला घटनाबारे औपचारिक जानकारी नपाएको भारतको भनाइ, कूटनीतिक पहलका लागि गृहले लेख्यो परराष्ट्रलाई पत्र

दार्चुला तुइन प्रकरण

0
Shares

काठमाडौं, भदौं १७ । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ ।

आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यस विषयमा मिडियाबाट केही सुने पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया पत्रकारहरुलाइई दिनुभएको हो ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाग्चीले भन्नुभयो, ‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएको र नेपालको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले एसएसबीको संलग्नता स्वीकार्दै कूटनीतिक पहलमार्फत समाधान खोज्न सुझाएको थियो ।

यसैबीच, सोही सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।