
काठमाडौं, भदौ १९ । कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी राजमार्ग भएर आउजाउ गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
गत असारमा पर्वतको दोबिल्लामा बाढी, पहिरोले भूपी शेरचन राजमार्गको पर्वत खण्ड हेरिरहेका इन्जिनियरसहित ३ जना बगाएको थियो ।
त्यही अहिले ठूलो पहिरो खसेर पुरै सडक नै बगाएको छ । प्रहरीका अनुसार भूपी शेरचन राजमार्गको पर्वत खण्डमा मात्रै ११ वटा पहिरो खसेका छन् ।
तीमध्ये अधिकांश ठूला र पहाडैसहित खसेका छन् । राजमार्ग खुलाउने पहल भएता पनि ठूला पहिरो भएका कारण खुल्न एक हप्ता लाग्न सक्ने बताइएको छ ।
बिहीबार र शुक्रबारको बाढी पहिरोमा परी पर्वत र कास्कीमा १८ जनाको मृत्यु भएको छ । पर्वतमात्रै ११ जनाले पहिरोमा ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्