१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल-चीन सिमा समिति गठन


0
Shares

काठमाडौं, भदौ १९ । गृहमन्त्रालयले हुम्ला जिल्लाको नाम्खामा नेपाल–चीन सिमा विवाद सम्बन्धि अध्ययन गर्न सह-सचिव नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।

गृहले मन्त्रालयका सह-सचिव जयनारायण आचार्यको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरेको हो ।

समितिले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्वर ५ र ६ मा पर्ने नेपाल-चीन सीमा विवाद सम्बन्धमा अध्ययन गर्नेछ । भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनसंगको सीमा समस्या अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता एंव केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनतर्फको सीमा क्षेत्र छुट्टयाउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू-भाग मिचिएको भन्दै अनुसन्धान गर्न माग गर्दै आएका थिए ।

नाम्खामा सीमा विवादको विषय उठेपछि शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले चासो जनाउँदै नेपालसंग कुनैपनि सीमा विवाद नरहेको जिकिर गरेको छ । २०७७ साल असोजमा कांग्रेस नेता शाही नेतृत्वको टोलीले हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित ललुङ्जोङ क्षेत्रमा चीनद्धारा नेपाली सीमा मिचिएको निष्कर्ष निकालेको थियो ।