
पोखरा, भदौं २२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाललाई प्युसोको संज्ञा दिनुभएको छ । मंगलबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको आरोप लगाउनुभयो ।
नेपालविरुद्ध क्रूद्ध देखिनुभएका ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको, स्थानीय तहमा मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पारेको भन्दै भन्नुभयो, ‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो ! उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।’
नेकपा हुँदा प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै ओलीले थप्नुभयो, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’
नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ को पूर्ण पालना हुनुपर्ने माग गरिरहेका बेला ओली प्रष्ट सन्देश दिँदै भन्नुभयो, ‘जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन ।’
माधव नेपाललाई फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदे अस्वीकार गरेको भन्दै कार्यकर्तालाई उहाँको निर्देशन थियो, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे । हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’
एमाले छाडेर समाजवादीमा लागेका जनप्रतिनिधि तथा पदाधिकारीलाई ओलीले बिग्रिएका र माधव नेपालको पिछलग्गु रहेको बताउनुभयो । व्यक्तिगत स्वार्थ र परिवारवादमा रम्नेहरु पार्टीबाट अलग भएको पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्