
काठमाडौं, भदौ २२ । नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४ सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको हो । विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट २४ सै घण्टा विद्युत आपूर्ति गरे ६० प्रतिशत महशुल लिन पाउने अन्यथा नपाउने भनिएपनि त्यसबिपरित् उद्योगीहरुलाई बिल पठाएको संघका अध्यक्ष पवन गोल्यानले बताउनुभयो ।
अध्यक्ष गोल्यानले प्राधिकरणले भने बमोजिम आफूलाई पावर सप्लाइ पनि नभएको र कुनै पनि उद्योगले २४ सै घण्टा विद्युत समेत नपाएको दाबी गर्नुभयो । उहाँले नियम मिचेको वा २४ सै घण्टा विद्युत प्रयोग गरेको भए कानून अनुरुप कारबाही भोग्न आफू तयार रहेको समेत बताउनुभयो ।
संघका उपाध्यक्ष विष्णु न्यौपानेले चोर र पुलिस एउटैलाई बनाएपछि कहिल्यै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले उद्योगी र प्राधिकरणको समस्याको समाधान गर्न विद्युत प्रयोग गरेकाबाट महशुल उठाउने र नगरेकालाई छोड्नुपर्ने बताउनुभयो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विवादमा आएका हरेक उद्योगहरुले प्रयोग गरिसकेपछि एक रुपैयाँ पनि वक्यौता नराखेको बताउनुभयो । उहाँले त्यसमध्ये ९८ प्रतिशत उद्योगले त्यसबाट पाउने रिवेट समयमै लिइरहेको समेत उल्लेख गर्नुभयो । अध्यक्ष थापाले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगीहरुले समयमा नै पैसा तिरेको बताउनुभयो ।
२०७२ असार १२ गतेबाट प्राधिकरणको सञ्चालकले डेडिकेटेड र ट्रंक लाइन सुविधाबारे निर्णय गरेर कार्यान्वयन गर्ने निर्णयसहित डेडिकेटेड र ट्रंक लाइन बाँडेको थियो । २०७५ वैशाख ३१ बाट देशमा लोडसेडिङ हटेपछि गत असार १ मा विद्युत नियमन आयोगले डेडिकेटेड लाइनको व्यवस्था खारेज नगर्दासम्मको अवधिको विवाद समाधान गर्ने जिम्मेवारी पाएको थियो । तर अहिलेसम्म विवाद समाधान हुन सकेको छैन ।
सार्वजनिक लेखा समितिले पनि गत चैतमा सरकारलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम महिनादिन भित्र उठाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्