
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई राजनीतिमा ल्याएसँगै गृहजिल्ला डडेलधुरामा भने भाँडभैलो मच्चिएको छ ।
यस पटकको महाधिवेशनका लागि जयवीरसिंहले डडेल्धुराबाट क्रियाशील सदस्यता लिएसँगै जिल्लामा भने भाँडभैलो मच्चिएको छ । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताहरु देउवाको शैलीबाट रुष्ट बनेका हुन् ।
जयवीरलाई डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्रियाशील सदस्य दिलाइएको छ । अहिलेसम्म गाउँ नपुगेका जयवीरको क्रियाशील सदस्यता वडाबाटै सिफारिश गरिएको दावी गरे पनि केन्द्रबाटै थपिएको जनाइएको छ ।
सभापति देउवाको समेत क्रियाशील सदस्यता रहेको गन्यापधुरामा भदौ २५ मा वडा अधिवेशन गराई जयवीरलाई क्षेत्रीय प्रतिनिधि पठाउने तयारी भइरहेका बेला जिल्ला सभापति कर्णबहादुर मल्लले भने अधिवेशन स्थगितको सूचना निकालेका छन् ।
बेलायतको युनिभर्सिटी अफ योर्कबाट राजनीति शास्त्रमा एमए गरेका २६ वर्षीय जयवीरलाई सक्रिय राजनीतिमा ल्याउन बाबु–आमाको जोड रहेको पनि जिल्लाकै नेताहरुले बताइरहेका छन् । जिल्ला सभापति मल्ल पनि सक्रिय राजनीतिमा ल्याउन कै लागि क्रियाशील सदस्य बनाइएको प्रतिक्रिया दिनुहुन्छ ।
आफ्ना छोराको सदस्यता थप्ने तर अरु पार्टीमा योगदान गरेका पाँच सय जनाको क्रियाशील सदस्यता काट्नै भन्दै मल्लले आपत्ति जनाउनुभएको छ । मल्लका अनुसार जिल्लाबाट पठाइएका पाँच सय जनाको नाम क्रियाशील सदस्यको सूचीबाट हटाइएको छ ।
केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाएको र जिल्लाले सिफारिश नै नगरेका तीन सय जना थपिनेमा देउवा पुत्र जयवीर पनि रहेपछि आपत्ति जनाउनुपरेको मल्लको भनाइ छ । डडेलधुरा कांग्रेसको गतिविधिमा देउवा पत्नी आरजु राणाले पनि हस्तक्षेप गरेको आरोप लागेको छ ।
यसबारेमा विवाद बढेपछि २५ भदौंमा गर्ने भनिएको वडा अधिवेशन नै विवादमा परेको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ गते मा वडा अधिवेशन हुने सूचना निकाल्नुभएको छ भने सभापति मल्लले अधिवेशन हुन नसक्ने भन्दै विज्ञप्ति निकाल्नुभएको छ ।
मल्लले निर्वाचन अधिकृत बमले एकपक्षीय ढंगले काम गरेकाले अधिवेशन स्थगित गर्नु परेको जिकीर गर्नुभयो ।
डडेलधुरामा क्रियाशील सदस्य वितरण चरम धाँधली भएको भन्दै नेता डा. शेखर कोइरालाले त आपत्ति नै जनाइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्