
काठमाडौं, भदौं २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानीमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
लगानी बोर्डको दशौँ वार्षिकोत्सवमा देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन लगानी बोर्डलाई निर्देशन दिँदै त्यसका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट गर्नुभयो ।
वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ । हाम्रो आफ्नै पुँजीले मात्रै नेपालको विकास अघि बढ्न सक्दैन । त्यसैले म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहान्छु ।’
प्रधानमन्त्री देउवाले ठूला परियोजनाहरु सरकार र निजी क्षेत्रको सहकार्यमा गरिने भन्दै भौतिक संरचना निर्माण गरी तीव्र औद्योगीकरण, रोजगारी सिर्जना, सेवा क्षेत्रको विस्तार गर्न स्वदेशी एवं विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको रुपान्तरण र विकासको लक्ष्यलाई कार्यान्वयन गर्न विदेशी पुँजी, प्रविधि, ज्ञान र सीपजस्ता महत्वपूर्ण तत्वहरूको समुचित प्रयोग गर्न अपरिहार्य हुन्छ । नेपालको आर्थिक सम्भाव्यताका क्षेत्रहरूको पहिचान, तुलनात्मक लाभका परियोजनाहरूको पहिचान, विकास, स्रोत व्यवस्थापन तथा कार्यान्वयनमा सहजीकरण, समन्वय तथा सहकार्यको वातावरण बनाउन समेत लगानी बोर्ड नेपालको महत्त्वपूर्ण भूमिका छ ।’
प्रतिक्रिया दिनुहोस्