१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


छिटो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता गठबन्धनको छलफल


0
Shares

काठमाडौं, भदौ २४ । मन्त्रिपरिषद् विस्तार र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदनको विषय चर्को रुपमा उठिरहेको बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजना, संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट भएको अवरोधबारे छलफल भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसबाट छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्‍याउन सहयोग माग गर्नु भएको थियो ।

एमसीसी परियोजनाका विषयमा भने कुनै सहमति नबनेको बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुनु भएन । गठबन्धनको बैठक भोलि पनि बस्ने भएको छ ।