८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


घुस लिएको अभियोगमा रामग्राम नगरपालिका वडाध्यक्ष पक्राउ


0
Shares

काठमाडौं, पुस ४ । स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर/गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु. दुई लाख घुस लिएको आयोगको अभियोग छ ।

वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद तथा भवन निर्माणको रकम हिनामिना गरेको आरोपमा श्रीहाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलामुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक महुमद आलम खाँ तथा पूर्वप्रअ श्रीकान्त दुवेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञान सामग्री खरिदका लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आव २०७२/०७३ मा विनियोजन भएको रु. छ लाख ५० हजारबाट खरिद गरिएकोमध्ये रु दुई लाख ८२ हजार दुई सय ८४ बराबरको सामग्री विद्यालयमा नभेटिएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले जानकारी दिए । रासस