
काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ ।
न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश लगायतका आदेश जारी गरेको हो । सर्वोच्चले निर्वाचन आयोगका नाममा सनाखत नगराउनुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुग्नु भएको थियो ।
रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।
अन्तरिम आदेश माग गरेको सम्बन्धमा छलफलका लागि २९ गते पेसी तोकिएको छ । आदेशमा ‘सो दिन उपस्थित हुन विपक्षीहरुलाई सूचना दिनु र सो मितिसम्म निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम कारवाही नगर्नू’ भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्