
काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने बताउनुभएको छ ।
अर्थमन्त्री शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको सम्बन्धमा जानकारी दिन आइतवार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याउने दाबी गर्नुभएको हो ।
आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पु¥याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तिव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताउनुभयो । त्यस्तै बजार अनुगमन, परिक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने उहाँले बताउनुभयो ।
उहाँले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको पनि बताउनुभयो । व्यापार घाटा चुलिदै गएको भन्दै उहाँले आयात प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताउनुभयो । उत्पादन क्षेत्रलाई जोड दिने उहाँको भनाई छ ।
कृषि बाली बिमालाई ८० प्रतिशत पु¥याउनुका साथै २०० मेघावाट भन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्राउन १५ वर्षसम्म कर छुट दिने, थप ६ वर्ष ५० प्रतिशत कर छुट दिने, उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्यययन गरिराखिएको पनि उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट कमाएर ल्याएको मध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गर्ने मन्त्रालयले त्यसमा बनाउन लागेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्