
काठमाडौं, भदौ ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि र सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ ।
पार्टीका अध्यक्षहरुको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले अवधि थप गर्ने निर्णय गरेको हो ।
पार्टीले आगामी कार्तिक २७ देखि हुने महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म र सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
पार्टीको सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७ परिच्छेद ३ को दफा (१९) (ग) लाई निम्नानुसार थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ। सम्बन्धित प्रदेशसभा अन्तर्गतका सवै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन् ।
यस्तै पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्