
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ ।
पौडेल समुहका मुख्य नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर समितिका पदाधिकारीसँग भेट गरी त्यहाँको वडा अधिवेशनलाई मान्यता नदिन ध्यानाकर्षण गराए ।
भेटपछि महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुराको वडा अधिवेशनमा धाँदली भएको भए पनि पुनःअधिवेशन हुने सम्भावना नदेखिएको बताउनुभयो ।
नेता डा. शेखर कोइरालाले कांग्रेसको डडेल्धुराको वडा अधिवेशन इतिहासमै लज्जास्पद घट्ना भएको भन्दै बाँकी रहेको जिल्लामा त्यसप्रकारका घटना दोहोरिन नदिन निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
केन्द्रीय निर्वाचन समितिसंगको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर, सुजाता कोइराला र गगन थापा सहभागि थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असहमति जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल र संस्थापन इतर पक्षको बहिस्कारकाबीच डडेल्धुरामा भदौ २५ गते वडा अधिवेशन सम्पन्न भएको थियो ।
जिल्लाका ५२ मध्ये ४१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्