
काठमाडौं, असोज ३ । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रिय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो ।
संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न खोज्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताउनुभयो ।
उहाँले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरु नै भागेको भन्दै जिम्मेवार पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गर्नुभयो ।
त्यस्तै माधव नेपाल समूहले पनि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धती र नीति विपरित् पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
संगठनका महासचिव शरणकुमार गुरुङ्गले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाल देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्