
काठमाडौं, असोज ५ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विराेधबीच राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।
उहाँले सो विधेयकको विभिन्न शिर्षकहरुमाथि समूहगत रूपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिनुभयो ।
बैठकको एक दिन अघि सो विधेयकमाथिको विभिन्न शिर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरूलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते बिहीबार अपरान्ह २ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्