
काठमाडौं, असोज ६ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै नेपाली कांग्रेसमा रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ ।
पार्टीको १४ औं महाधिवेशन केन्द्रित क्रियाशील विवादबाटै बाहिर उत्रन नसकेको कांग्रेसमा मन्त्री छनौटले फेरि कलह थपेको हो ।
प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो ।
प्रधानमन्त्री देउवाले आफूहरुसँग कुनै संवाद नै नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको भन्दै आक्रोशित पौडेल पक्षले आफ्नो समूहको अलग्गै छलफल नै गर्दैछ ।
पार्टीभित्र पौडेल पक्षले अन्तुष्टि जनाउन थालेपछि सभापति देउवाले बुधबार नै पदाधिकारी बैठक बोलाएको भए पनि त्यसअघि नै पौडेल समूहले बैठक बोलाएको हो ।
नेतृ सुजाता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने पक्षमा पौडेल समूह रहेकै बेला देउवाले खड्कालाई साेही पद दिएपछि उक्त समूह चिढिएको हाे । यसअघि, स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गर्दा पनि आफूहरुसँग छलफल नभएको पौडेल समूहको जिकीर छ ।
अहिलेसम्म नियुक्त भएका सबै जना देउवा पक्षका छन् । २९ असारमा आफूले प्रधानमन्त्री पदको शपथ लिँदा देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्रीमा बालकृष्ण खाँणलाई नियुक्त गर्नुभएको थियो भने पछि स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । तीनै जना देउवा पक्षीय नेता हुन् ।
प्रधानमन्त्री नियुक्त भएको ७० दिनसम्म पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसक्दा देउवा आलोचित भइरहनुभएको छ ।
अर्कातर्फ विभिन्न जिल्लाले वडा अधिवेशन सकाएर पालिका अधिवेशनमा जुट्दासम्म १३ जिल्लाको क्रियाशील सदस्य विवाद मिलाउन नसकेकामा पनि यो समूह सभापति देउवासँग रुष्ट छ ।
अझ देउवाले गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिको बहिष्कारकै बीच वडा अधिवेशन गराएको भन्दै उक्त अधिवेशन फेरि गराउन पौडेल पक्षले माग गरिरहेको छ ।
डडेलधुरा, सिन्धुपाल्चोक, मोरङलगायत जिल्लामा गरिएको वडा अधिवेशनको शैलीले संस्थापन पक्ष कब्जाको रणनीतिमा लागेको बुझिएको पौडेल समूहका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्