
काठमाडौं, असोज १२ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ ।
सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो ।
एकीकृत समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ ।
जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको बताइएको छ ।
अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिनु भएको छ । त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि मन्त्री बनाउनु पर्ने भन्दै अध्यक्ष नेपालले सात मन्त्री मागेको बुझिएको छ ।
एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्