१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुद्ध एयरमा देखिएको प्राविधिक समस्या स्वाभाविक : सहसचिव लामिछाने


0
Shares

काठमाडौं, असोज १५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताउनुभएको छ ।

उहाँले बुद्ध एयरमा भएको घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि बताउनुभएको छ । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा शुक्रबार सिंहदरबारमा गरेको छलफलमा सहसचिव लामिछानेले विमान मसिनबाट चल्ने भएकोले कहिलेकाही केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गर्नुभयो ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताउनुभयो । उहाँले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताउनुभयो ।

जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । यति एयरलाइन्सका अप्रेसस म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताउनुभयो ।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताउनुभयो । उहाँले सधैं आइरहनु ठूलो समस्या भएको तर कहिलेकाँही देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताउनुभयो ।

उहाँले १५ वर्षको इतिहासमा पहिलो पटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताउनुभयो ।