७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ ।

कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो ।

यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँले बताउनुभयो । दशैंलगत्तै १ लाख फाइजर खोप आउने उहाँले जानकारी दिनुभयो । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाई छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनुभयो । फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिनुभयो ।