
काठमाडौं, असोज १७ । नजिकिदैँ गरेको दशैँ, तिहार, छटलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् ।
आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो ।
उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशिलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताउनुभयो ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । विभाग स्रोत अनुगमन र सूचनामा आधारीत अनुगमनमा केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।
बजार अनुगमनका लागि हाल विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरीरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्