२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


तीन बुँदे सहमति कार्यान्वयन गर्न नेत्रविक्रम चन्दको माग, कार्यदल नै बनाएर काम थाल्न आग्रह


0
Shares

काठमाडौं, असोज १८ । नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति तत्काल लागू गर्न माग गरेको छ ।

सहमति भएको लामो समयसम्म पनि सहमति पूर्ण कार्यान्वयन नभएको भन्दै महासचिव चन्दले सरकारको फेरि ध्यानाकर्षण गराएका हुन् ।
बन्दीको रिहाइ र मुद्दा फिर्ता गर्ने मुख्य सहमति नै कार्यान्वयन नभएको भन्दै चन्दले तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको हो ।

आफ्नो पार्टी सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको र त्यसका लागि कार्यदल नै बनाउन प्रस्ताव गर्दै चन्दले भन्नुभएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’

देउवा प्रधानमन्त्री हुनेबितिकै तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराए पनि तीन महिनासम्म कार्यकर्ता रिहा नभएकामा चन्दले आशंका गर्नुभएको छ ।

तीन बुँदे सहमतिको शुरुमै कार्यान्वयन गर्नुपर्ने बन्दी रिहाइ र मुद्दा खारेजी नभएकामा आपत्ति व्यक्त गर्दै चन्दले आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही विषय झन बढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ । आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो ।’

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरी खुला राजनीतिमा फर्किएको नेकपाले यसबीच सबैजसो दलसँग भेटेर आफ्ना माग सम्बोधनमा सघाउन आग्रह गर्दै आएको छ ।