
एजेन्सी । फुमिओ किशिदाले जापानको नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गर्नुभएको छ ।
योशिहिदे सुगाले पदसम्हालेको एक बर्षमा राजीनामा दिएपछि किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्नु भएको हो । ६४ वर्षीय किशिदाले गत हप्ता जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वको दौड जित्नु भएको थियो ।
नवनियुक्त प्रधानमन्त्री किशिदालाई उत्तर कोरियाले दिने चुनौति र कोभिड महामारीले निम्त्याएको आर्थिक सुधारका पक्षको सामना गर्नु पर्ने बताइएको छ । कोभिड महामारीकै बीचमा टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि धुमिलिएको पार्टीको छबी सुधार गर्नु पर्ने दायित्व पनि उहाँको काँधमा आएको छ ।
प्रधानमन्त्री किशिदाले आगामी निर्वाचनसम्म मुलुकको नेतृत्व लिनु हुने छ । उहाँले ३१ अक्टोबरभित्र चुनावको लागि आह्वान गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री किशिदाले मुलुकमा नयाँ सुरुवात भएको बताउँदै भविष्यका चुनौतिहरुको सामना गर्न आफुसँग दृढ इच्छाशक्ति रहेको बताउनुभएको छ ।
लामो समयदेखि प्रधानमन्त्री पदको तयार थाल्नु भएका किशिदा अघिल्लो बर्षको चुनावमा सुगासँग पराजित हुन भएको थियो ।
प्रधानमन्त्री पद सम्हालेलगत्तै किशिदाले थुप्रै नयाँ अनुहारसहित मन्त्रिमण्डल विस्तार गर्नुभएको छ भने केही महत्वपूर्ण मन्त्रालयमा निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् ।
पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषदमा तीन महिला समावेश गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्