७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जीवनोपयोगी र विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्छ : अध्यक्ष बराल


0
Shares

काठमाडौं, असोज २१ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो । पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उहाँले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रीत हुनुपरेको उल्लेख गर्नुभयो । तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने उहाँले बतानुभयो ।

अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताउनुभयो । उहाँले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताउनुभयो ।