
काठमाडौं, असोज २१ । मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ बिहीबार (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएको समयमा चलचित्र ‘एक’ले डिजिटल प्लेटफर्ममा जोखिम मोलेको हो । बिहीबार देखिनै सिनेमा हलहरू पनि खुलेका छन् ।
यो चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन् । पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरेका छन् ।
चलचित्रमा सिएआई एउटा गुप्तचर संस्था हुन्छ । राष्ट्रका यी चिन्ताहरूलाई उनले रिलमा उतार्ने प्रयन्त गरेका छन् । ‘राष्ट्रकाविरूद्ध हुने यस्ता वैदेशिक चलखेलहरूलाई असफल बनाउनका लागि फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा आवश्यक भइसकेको छ भन्ने सन्देश यो चलचित्रले दिएको छ ।
चलचित्रमा मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण गरिएको छ । कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् । यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान चलचित्रमा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् ।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन् ।
गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।
चलचित्र ‘एक’ सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्