२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द


0
Shares

पाँचथर, असोज २२ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिको माग गर्दे जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द गरिएको छ ।

सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर गत बुधबार बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेकोले बिहीबारबाट सबै प्रकारका स्वास्थ्य सेवा वन्द गरिएको अस्पतालका हेल्थ असिसटेन्ट सोम धितालले जानकारी दिनुभयो । इटा, ढुङ्गा, रड, भाला, खुकुरी लगायतसहित अस्पतालमा तोडफोड गरिएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दे अस्पतालबाट दिइने सवै सेवा वन्द गरिएको उहाँले बताउनुभयो ।

अस्पतालले सटिक एलर्जिक प्रतिक्रिया (एनाफाइलासिस)का कारण उपचाररत बालिका कृष्टिना थाम्सुहाङ ज्यान गएको हुनसक्ने आँकलन गरेको छ । दिवङ्गत बालिकामा ज्वरोको समस्या भएपछि विगत एक सातादेखि पटक–पटक अस्पतालको आकस्मिक विभागमा उपचारमा भइरहेको र एण्टिबायोटिक औषधिको प्रयोगबाट समेत ज्वरो नघटेपछि अस्पतालमै कार्यरत बाल रोग विशेषज्ञको उपचार योजनामा अस्पतालको अन्तरङ्ग विभागमा भर्ना गरिएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।

अस्पतालले उपचार प्रकृयामा कुनै त्रुटी वा लापरवाही भएको शंका भए छानविन गरी निश्कर्षमा पुग्न तयार रहेको जनाएको छ ।