
काठमाडौं, असोज २२ । बाँकेमा हत्या भएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ ।
बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।
पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ । दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गर्नुभयो ।
बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्धा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकीना तेलीले बताउनुभयो । स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उहाँले बताउनुयो ।
पीडित परिवारले आफुहरुको माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्