
काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नु भएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको बताउनु भएको छ । उहाँले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताउनुभयो । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्